सोलुखुम्बु । सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भरपालिका निर्माण गर्ने उद्देश्यले थुलुङदूधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारी पत्रमा सोमबार दुई पक्षबीच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) को अधिनमा रहि कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने, क्षमता विकास गरी पालिकाभित्रका नागरिकलाई सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट उत्पादनमा जोड दिने र आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पु¥याउने सम्झौतापत्रमा उल्लेख छ ।
यस्तै सम्झौतामा वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पूँजी आर्जन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमशीलतासँग जोडेर विदेशमा आर्जिन गरेको सीप, अनुभव र पूँजीको स्वादेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु¥याउने तथा वित्तीय पहुँच एवं वित्तीय समावेशीतामा अभिवृद्धि गर्नेलगायत उद्देश्य छ । गाउँपालिका अध्यक्ष असिम राई र बैंकको तर्फबाट रिटेल फिनानसियल सर्भिस प्रमुख दीपेश आमात्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारी पत्रमा उल्लेख भएअनुसार कार्यक्रम अगाडि बढाउनका लागि दुई पक्षबीचको भूमिका उल्लेख गरिएको छ ।