आज पुस २० गते सोमबार १ वाणिज्य बैंक सहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited र गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स Guheswori Merchant Banking & Finance को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेकोले आज पुस २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
एनसीसी बैंकले माघ ९ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा उक्त लाभांश वितरण हुनेछ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पेश हुने छन् ।






