ब्रोकर कमिसन घटाइ दिएर आम्दानीको स्रोत खुम्चाइएका ब्रोकर कम्पनीलाई बजार सञ्चालकले थप व्ययभार थप्ने गृह कार्य शुरु गरेको छ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सित्तैमा चलाउन दिएको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम(टिएमएस ) चलाए बापत शुल्क लिएर उनीहरूलाई थप व्ययभार थपिदिने भएको हो।
यस अघि नेप्सेले ब्रोकर कम्पनीहरूलाई टिएमएस बनाएर सित्तैमा चलाउन दिँदै आएको थियो। तर उसले हालै एपिआई पोलिसी पास गर्दै सित्तैमा चलाउन दिँदै आएको टिएमएसको शुल्क लिने गृहकार्य सुरु गरेको हो। उसले शुल्क निर्धारण र टिएमएस चलाउन दिने विधिबारे अध्ययन गर्न एक कमिटी गठन गरेको छ। नेप्सेका एक निर्देशकको संयोजकत्वमा उक्त कमिटी गठन भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। पराजुलीका अनुसार कमिटीले तोकेको शुल्क र विधिका आधारमा के कति शुल्क लिने र कस्तो विधि मार्फत उनीहरूलाई चलाउन दिने भन्ने तय हुने छ। कमिटीले अध्ययनलाई करीब करीब सकेकाे अवस्था छ। उसले बुझाएको रिपोर्ट नेप्से सञ्चालक समितिले पास गरेपछि कार्यान्वयनमा आउने छ।
...







