काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।
यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नुहुनेछ । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।