मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न मिल्ने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सो ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सो सम्झौता पश्चात बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ ।








