काठमाडौं । कोरोना महामारीबाट अर्थतन्त्रमा असर परे पनि अर्थतन्त्रका मुख्य सूचकहरू भने सकारात्मक देखिएका छन् । वैदेशिक व्यापार, विप्रेषण आप्रवाह, शोधनान्तर स्थितिजस्ता प्रमुख सूचकहरूमा सुधार आएको पाइन्छ ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको त्रैमासिक प्रतिवेदनअनुसार गत असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ दशमलव ३ प्रतिशतले बढेको थियो । निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ५ दशमलव २ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।
औद्योगिक कच्चा पदार्थ, इन्धन, यातायातका साधन तथा पार्टपुर्जालगायत वस्तुको आयात असोज महीनामा बढेको छ । यद्यपि गतवर्षको दाँजोमा भने कम छ । समीक्षा अवधिमा बाह्य क्षेत्र सन्तुलनमा रहेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अहिलेको अवस्थामा चालू खाता, शोधनान्तर बचतमा हुनु राम्रो भएको बताए । बाह्य क्षेत्र सन्तुलन भएन भने विदेशी दातृ निकायको, दाताको, लगानीकर्ताको विश्वास कायम गर्न गाह्रो हुने भट्टको भनाइ छ ।