काठमाडौं । राष्ट्र बैङ्कबाट इजाजत वा अनुमति पाएका कम्पनीहरु थप ग्राहकमैत्री बन्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले नियामक निकायहरुमध्येकै पहिलोपटक ग्राहकको गुनासो वा संरक्षण गर्नेगरी छुट्टै संयन्त्र स्थापना गर्ने व्यवस्था गरेसँगै इजाजत वा अनुमति प्राप्त गरेका त्यस्ता संस्थाहरु थप जिम्मेवार बन्नुपर्ने भएको हो । नेपाल राष्ट्र बैङ्कबाट हाल वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी, हायर पर्चेज सेवा सञ्चालन गर्ने कम्पनी, मुद्रा विनिमय केन्द्र लगायतले अनुमति प्राप्त गरेर कारोबार सञ्चालन गर्दै आएका छन् ।
सोमबार नेपाल राष्ट्र बैङ्कले “नेपाल राष्ट्र बैङ्क वित्तीय ग्राहक संरक्षण तथा गुनासो कार्यविधि २०७७” जारी गरेको छ । यो कार्यविधिलाई गभर्नर महाप्रसाद अधिकारीले स्वीकृत गरेको दिनदेखि लागु हुने राष्ट्र बैङ्कले प्रष्ट पारेको छ ।