ओखलढुंगा : ओखलढुंगाको एक निजी बैंकमा गर्भनरको हस्ताक्षर नभएका नोट फेला परेको छ। सनराईज बैंकको ओखलढुंगा शाखामा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर नभएका नोट फेला परेको हो।
कारोबारका क्रममा आइतबार देखिनै त्यस्ता नोटहरु फेला परेको सनराइज बैंकका प्रबन्धक ख्यामराज राना मगरले बताए। त्यस्ता नोटमा अन्य कुनै फरक नरहे पनि हस्ताक्षर नभएकाले शंकास्पद भएकाले बैंकले जनाएको छ। आइतबारदेखि नै कारोबारका क्रममा त्यस्ता नोट भेटिएका थिए। आइतवार दुई थान, सोमवार तीन थान र मंगलवार आठ थान पाँच सय रुपैयाँका नोट भेटिएका थिए।
स्थानीयले बैंकमा पैसा जम्मा गर्दा भेटिएका नोटहरु ग्लोबल आईएमई बैंक, एनआई सि एसिया र सिभिल बैंकबाट सिल भएर आएका बन्डलहरुमा पाइएको बताइएको छ। नोटहरुमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर मात्रै नभएको र नेपाली रुपैयाँमा हुनुपर्ने सबै मापदण्डहरु रहेकाले ती नोटहरु नक्कली नै हुन भनेर एकिन गर्न नसकिने शाखा प्रबन्धक राना मगरको भनाइ छ। नोट पहिचानका लागि नेपाल राष्ट्र बैंकमा पठाउने उनले जनाए।








