हिमालयन बैङ्कको स्वामित्व रहेको पाकिस्तानको हबिब बैङ्कले सो बैङ्कमा भएको संस्थापक सेयर बिक्री गर्न खोजेको छ । त्यसका लागि नेपाली लगानीकर्तासँग छलफलसमेत गरेको छ । सञ्चय कोष र बेलायतको कमन वेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी ग्रुप) सँग हबिबले छलफल समेत गरेको छ
सीडीसीले डिसेम्बरपछि मात्र थप छलफल गरेर निर्णय लिने भने पनि हबिबले सञ्चयकोषलाई सेयर खरिदका लागि प्रस्ताव गरेको छ । सञ्चय कोषका प्रशासक तुलसी गौतमका अनुसार हबिबले नेपाली लगानीकर्तासँग छलफल गरेको छ । कोषले भने महामारी न्यूनीकरण भएपछि छलफल गर्ने भन्दै हबिबलाई फर्काएको छ । गौतम हिमालयन बैङ्कका अध्यक्ष पनि हुन् ।
हबिबको हिमालयन बैङ्कमा २० प्रतिशत सेयर स्वामित्व छ । सो २० प्रतिशत नै सेयर स्वामित्व खरिद गर्न सक्ने अवस्थामा कोष छैन । कोषको बैङ्कमा १५ प्रतिशत सेयर स्वामित्व छ । यसकारण उसले बढीमा १० प्रतिशतसम्म सेयर खरिद गर्न सक्छ ।








