कोरोना महामारीका कारण अधिक तरलता थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले यसअघि जारी गर्ने तयारी गरिएको ऋणपत्र निष्कासनमा अन्योल सिर्जना भइरहेको छ।
पुँजीको जोहो गर्न बैंक तथा वित्तीय संस्थाले ऋणपत्र जारी गर्नुपर्ने नियम छ। कोरोनाले महामारीको रूप लिनुअघि नै १७ बैंक र दुई फाइनान्स कम्पनीले ४५ अर्ब रूपैयाँ बढीको ऋणपत्र निष्कासन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिएका छन्।
राष्ट्र बैंकले गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको थियो। जसअनुसार १७ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीले ४५ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएका थिए।
तीमध्ये अहिलेसम्म थोरैले मात्र ऋणपत्र निष्कासन गरेका छन्। राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुदृढीकरणका लागि २०७७ असार मसान्तसम्म चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो। तर मर्जर तथा प्राप्तीमा सहभागी हुने बैंकले २०७८ असार मसान्तसम्म तोकिएको प्रतिशतमा ऋणपत्र जारी गर्न पाउने सहुलियत राष्ट्र बैंकले दिएको छ।