काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर र एक्विजिसनमा प्रोत्साहन गर्न केन्द्रीय बैंकले धमाधम हकप्रद सेयरमा अंकुश लगाउन थालेको छ । सबल संस्थाले बोनसबाट पुँजी वृद्धि गर्न सक्नेछन् । नसक्नेले मर्जर तथा एक्विजिसनमा जानुपर्नेछ । त्यसो त केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरुलाई निर्देशन नै जारी गरी मर्जर र एक्विजिसनमा जान जोड दिएको छ । हकप्रद सेयर निष्कासन गर्न करिब बन्देज नै लगाउनुको उद्देश्य पनि यही हो । तर वाणिज्य बैंकहरुलाई भने औपचारिक निर्देशन जारी नगरी घुमाउरो ढंगले रोक लगाउन थालिएको छ ।
राष्ट्र बैंकले संस्था घटाउने रणनीतिका रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाएको हो । हकप्रदको अस्त्र प्रयोग गर्दै मर्जरका लागि बाध्य बनाउने योजनामा राष्ट्र बैंक छ । फलस्वरुपः केन्द्रीय बैंकले साउन लागेयता दुई बैंकको हकप्रद सेयरलाई रोकिसकेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासनमा रोक लगाएको एक साता नबित्दै उसले तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रस्तावलाई पनि अस्वीकृत गरिसकेको छ ।