काठमाडौं । विद्युतीय कारोबारलाई सस्तो र सुरक्षित बनाउन देशको आफ्नै ‘नेशनल पेमेन्ट स्वीच’ नहुँदा समस्या भइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले यस्तो स्वीच बनाउन जिम्मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई दिएको छ ।
केन्द्रीय बैंकले १ महीनाअघि स्वीच बनाउने जिम्मा एनसीएचएललाई सुम्पिएको हो । एनसीएचएलले स्वीच स्थापनाको सम्भाव्यता अध्ययन शुरू गरिसकेको बताएको छ ।
यसको सम्भाव्यता अध्ययन शुरू गरेकाले चाँडै नै टुंगो लाग्ने एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले बताए । ‘राष्ट्र बैंकले १ महीनाअघि स्वीच बनाउने जिम्मा सुम्पेको हो । यसपछि हामीले कसरी, कुन मोडालिटीमा काम गर्ने भनेर छलफल गरिरहेका छौं । अहिले हामी सम्भाव्यता अध्ययनमै छौं,’ उनले भने ।
नेपालको आफ्नै स्वीच प्रणाली नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा भिसा, मास्टर कार्डजस्ता अन्तरराष्ट्रिय पेमेन्ट गेटवेलाई महँगो शुल्क तिर्नु परिरहेको छ । स्वीच वित्तीय कारोबार गर्ने सबै संस्थालाई जोड्ने मुख्यद्वार मानिन्छ । यही स्वीचबाट भुक्तानी प्रदायक संस्थाहरूले कारोबार गर्छन् ।