नेपाल राष्ट्र बैंकले २६ करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ९ महिना अर्थात २७२ दिनको लागि लगानी गर्न लागेकाे बैंकले एक सूचनामार्फत जानकारी दिएकाे छ ।
बैंकले २० करोड ८० लाख रुपैयाँ बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै, ३ करोड ९० लाख रुपैयाँ बराबरको रकम ‘ख’ वर्गका विकास बैंकहरुमा र १ करोड ३० लाख रूपैयाँ बराबरको रकम ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा गरी कूल २६ करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको हो ।
बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ ।
यसैगरी, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, सञ्चालन मुनाफा कमाएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत एवं कार्यकारी सञ्चालक कारवाही परेको हुन नहुने र कारवाहीमा परेको भए फुकुवा भएको ६ महीना पूरा भएको हुनुपर्ने शर्त राखिएको छ । सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरिसकेको हुनुपर्ने पनि बैंकले जनाएको छ ।