१३ साउन, काठमाडौं । सनराइज बैंकका सञ्चालकहरु प्रमुख कार्यकारी अधिकृतलाई हटाउनेसम्मको योजनामा तत्कालका लागि ब्रेक लागेको छ । केहि सञ्चालकहरु र सीईओ जनक शर्मा पौड्यालबीचको विवाद बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले समेत यस विषयमा निकै चासो दियो ।
केन्द्रीय बैंकले बैंकका सञ्चालकलाई बोलाएर अनावश्यक विवाद नगर्न चेतावनी दिएपछि तत्कालका लागि यो विवाद समाधान भएको छ । तर यो सँधैका लागि भने समाधान भएको भने होइन ।
बैंकको सञ्चालक समिति बैठक मंगलबार बस्ने तयारी थियो । बैठकमा भनाभन हुने र थप बिवाद बढ्न जाने अनुमान गर्दै अध्यक्ष मोतिलाल दुगडले मंगलबार सञ्चालक समिति बैठक बोलाएनन् । केही दिनमा सञ्चालक समिति बैठक बोलाएर संवादबाटै समस्या टुंगाउने बैंक सञ्चालकको तयारी छ ।
के थियो विवाद ?
बैंकमा विवाद सिर्जना हुनुको मूख्य कारण चाहिँ कर्मचारी नियुक्तिको विषय भएको श्रोत बताउँछ । बैंकमा एकाएक विवाद सतहमा आउनुको कारण भनेको कर्मचारी नै हुन् । केहि कर्मचारीहरु बाहिरबाट ल्याएर उच्च पदमा नियुक्ति दिएपछि बैंकमा कार्यरत अन्य कर्मचारीहरु असन्तुष्ट बने । उनीहरुको असन्तुष्टि बैंक सञ्चालक समितिसम्म पुग्यो ।








