छोटो अवधिको मुद्दती निक्षेपमा २० करोड लगानी गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
छोटो अवधिको मुद्दती निक्षेपमा २० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्ने गरेको नेपाल राष्ट्र बैंकले यसपटक छोटो अवधि अर्थात् २४१ दिनका लागि मात्र लगानी गर्न सूचना जारी गरेको छ । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा २४१ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

कोषमा रहेको रकमलाई २०७७ साउन १ गतेदेखि २०७७ फागुन २९ गतेसम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले रू. १६ करोड रुपैयाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा रू. ३ करोड रुपैयाँ र वित्त कम्पनीहरूमा रू. १ करोड बराबरको लगानी गर्नेछ ।
राष्ट्र बैंकले तोकिएको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई  असार २८ गते आइतवार दिउँसो ४ बजेभित्र पेश गर्न अनुरोध गरेको छ । बैंकहरूले उक्त निक्षेपको ब्याज त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्नेछ ।

प्रस्ताव गरेको ब्याजदर लगानी हुने मितिसम्म मात्र मान्य हुने राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले बताएको छ । विभागका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन सम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

Read More
  • EBL Ad news