कोभिड–१९ को प्रभाव अध्ययन गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
कोभिड–१९ को प्रभाव अध्ययन गर्दै राष्ट्र बैंक

छिटो तथ्यांक उपलब्ध गराउन बैंकलाई निर्देशन

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट मुलुकमा परेको प्रभावबारे अध्ययन तथा मूल्यांकन गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय संस्थालाई नियमित रूपमा वित्तीय विवरणसहित रिपोर्टिङ गर्न निर्देशन दिएको छ । 

गत चैत १२ गते बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङ परिस्थिति सामान्य भएपछि कार्यालय नियमित रूपमा खुलेको ७ कार्यदिनभित्र गर्न भनिएको थियो । तर, अवस्था सामान्य नहँुदै कोभिड तथा लकडाउनबाट धेरै उद्योग व्यवसायले क्षति बेहोर्नु परेको छ । 

बैंकबाट कर्जा लिएर गरेको व्यवसाय ठप्प हुँदा उद्योगी व्यवसायीलाई परेको प्रभाव अध्ययन गर्न यसअघि दिएको ७ दिनको छूट व्यवस्था फिर्ता लिएको केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार वित्तीय क्षेत्रको तथ्यांक आवश्यक परेकाले पहिलाको जस्तै नियमित रिपोर्टिङ गर्न भनिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकमा प्रवेश गरेलगत्तै कोभिड–१९ को प्रभावबारे अध्ययन गर्न समिति गठन गरेका थिए । राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिलाई पर्यटन, होटल, वायुसेवा, उद्योगलगायत क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न तथ्यांक आवश्यक भएकाले विवरण मागिएको हो । समितिले विभिन्न क्षेत्रमा भएको क्षतिबारे तथ्यांक संकलन गर्न थालिसकेको संयोजक भट्टले जानकारी दिए । ‘कोरोना तथा लकडाउनले पारेको प्रभाव समग्र अर्थतन्त्रमा पर्ने भएकाले यसबारे अध्ययन थालिएको हो,’ भट्टले भने । समितिमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी फछ्र्योट विभाग र सबै सुपरिवेक्षण विभागका प्रतिनिधि र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालसमेत छन् ।

 

Read More
  • EBL Ad news