चीनको वुहानबाट प्रारम्भ भई विश्वभर फैलिसकेको कोरोना भाइस (कोडिभ–१९) का कारण विश्व अर्थतन्त्र हाल आक्रान्त बनेको छ । दैनिक हजारौ मानिसहरू संक्रमित भइरहेका छन् । हालसम्म विश्वभर दशलाख भन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् भने पचास हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
विकसित अमेरिकी तथा युरोपियन देशहरू अहिले यस महामारीको इपिसेन्टरको रूपमा देखिएका छन् । कोरोनाको औषधी बनिनसकेकोले सामाजिक दुरी कायम गरी यसको चक्र तोड्नु पर्ने विश्व स्वास्थ्य संगठनको सुझाव अनुरूप कतिपय मुलुकमा पूर्ण लकडाउन गरिएको छ भने कतिपयले भेला, सम्मेलन, स्वतन्त्र हिडडुलमा प्रतिबन्ध लगाएका छन् । विश्व आर्थिक जगत तहसनहस भइरहेको छ ।
नेपाल पनि कोरोनाको प्रभावले अछुतो रहेन । हालसम्म ६ जनामा यो रोग देखिएको छ । मुलुक चैत्र ११ देखि २५ सम्मका लागि लकडाउन गरिएको छ । उद्योग कलकारखाना खुलेका छैन । आपूर्ति व्यवस्थामा असर पुगेको छ । रोजगारी गुमेको छ । रेमिटान्स आउने कुरै भएन । आर्थिक गतिविधि न्यून हुँदा सरकारी ढुकुटीमा समेत चाप परेको छ ।