काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल जारी गर्न लागेको हो । आज (चैत्र १० गते, साेमबार) ३ बजे बोलकबाेल भएर भोली (चैत्र ११ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।
यसैगरी, बैंकले एक सूचनामार्फत ९१ दिन, १८२ दिन र १ वर्षको अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ ।
बैंकले ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको हो । उक्त ट्रेजरी २०७७ असार ९ गते परिपक्व हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्दैछ । साे ट्रेजरी २०७७ असोज ६ गते परिपक्व हुँदैछ । त्यसैगरी, १ वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने छ । यो ट्रेजरी २०७७ चैत १० गते परिपक्व हुने बैंकले जनाएको छ ।