नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति नहुँदासम्मलाई कायम मुकायम (कामू) गभर्नरमा हालका डेपुटि गभर्नर चिन्तामणि शिवाकोटीले कार्यभार सम्हाल्ने भएका छन् ।
हालका गभर्नर डा चिरञ्जिवि नेपालको ५ वर्षे कार्यकालको मंगलवार अन्तिम दिन हुँदा पनि सरकारले नयाँ गभर्नर नियुक्तीमा ढिलाई गरेपछि कामूको रुपमा गभर्नरको कार्यभार सम्हाल्न शिवाकोटिलाई अर्थ मन्त्रालयले पत्र पठाएको हो ।
मन्त्रिस्तरीय बैठकबाट कामू गभर्नरमा शिवाकोटीलाई नियुक्त गर्ने निर्णयपछि अर्थमन्त्री डा युवराज खतिवडाले पठाएको पत्र मंगलवार हात परेको शिवाकोटीले बताए । ‘अर्को व्यवस्था नहुञ्जेललाई कामू गभर्नरको पद सम्हाल्न पत्र प्राप्त भएको छ’, उनले भने ।
सामान्यतया गभर्नरको कार्यकाल सकिन १ महीना अगावै आगामी गभर्नरको नियुक्तिका लागि छनौट समिति गठन गर्ने प्रचलन भएपनि सरकारले भने कार्यकाल सकिएको अन्तिम दिनसम्म टुंगो लगाउने भनेको थियो ।