३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को कुन क्षेत्रमा कति असर पर्छ भन्ने विषयमा राष्ट्र बैंकले अध्ययन शुरु गरेको छ । राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टको नेतृत्वमा अध्ययन शुरु गरिएको राष्ट्र बैंकले बताएको छ ।
कोरोनाका कारण बैंकिङ क्षेत्रमा केकति असर पर्न सक्छ भन्ने एकिन त्यसै गर्न नसकिने भएकाले अनुसन्धान शुरु गरिएको राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।
कोरोना भाइरसले समग्र अर्थतन्त्रमा पार्न सक्ने असरबारे अध्ययन गरी अनुसन्धान विभागले केही साताभित्रै रिपोर्ट दिने कार्यकारी निर्देशक ढकालले बताए ।
चीनको वुहानबाट शुरु भएको कोरा्ना भाइरस यतिबेला विश्वव्यापी बन्दै गएको छ । भाइरसले विश्व अर्थतन्त्रमा असर गरिसकेको छ भने नेपालमा पनि यसको प्रभाव शुरु भएको छ । खासगरी नेपालको पर्यटन क्षेत्रमा कोरोनको असर देखिन शुरु भइसकेको छ ।
विस्तारै अन्य क्षेत्रमा पनि यसको असर फैलँदै जाने र मुलुकको अर्थतन्त्रमा नकरात्मक असर गर्ने ढकालको भनाइ छ । अर्थतन्त्रमा केकति असर पर्छ र त्यसको रोकथामका लागि के गर्न सकिन्छ भन्ने अध्ययनले देखाउने उनले बताए ।
...