काठमाडौँ । दिपेन्द्र कँडेलको मोबाइलमा कैलाश विकास बैंकबाट मेसेज आयो । मेसेजमा लेखिएको थियो, 'दिपेन्द्रजी, म कैलाश बैंक हेड अफिसबाट, तपाईं किस्ता पनि हाल्नुहुन्न, फोन पनि उठाउनु हुन्न, तपाईंको नोटिस पत्रिकामा 'पब्लिस' हुँदैछ । यसअघि नियमित रुपमा किस्ता हालिरहेका उनी बाबु बितेपछि पारिवारिक काममा व्यस्त हुँदा केहि किस्ता छुटेको रहेछ । तर कुरा बैंकको फलोअपको थिएन, उनलाई पठाइएको मेसेजको थियो । न बैंकबाट औपचारिक पत्र, न जानकारी, न सम्बन्धित ठाउँबाट फोनमा कुराकानी, न कुनै इमेल । एक्कासी यस्तो मेसेज आएपछि उनी बैंक गए ।
बैंकमा उनले आफुलाई कुनै पनि जानकारी नदिइकन यस्तो मेसेज आएको बारे भने । बैंकले उनलाई ४ वटा पत्रमार्फत जानकारी गराएको दावी गर्यो । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर गरेकोसमेत बैंकको दावी थियो । तर बैंकको सबै दावी झुटो रहेछ । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर नै गरेको होइन रहेछ । बरु अरु कसैले उनकि आमाको किर्ते हस्ताक्षर गरिदिएको रहेछ । ४ वटा पत्रमा उल्लेखित हस्ताक्षर एउटासँग अर्को मिल्दैन । त्यसमाथि उनी ग्यारेन्टर भएको ऋणको पत्रमा उनलाई कतिमा बोधार्थ दिइएको छैन, कतिमा उनको ठेगाना नै गलत छ । उनलाई इमेलमार्फत पनि केहि जानकारी गराइएको छैन । बैंकले दावी गरेपछि उनले आमासँग बुझे । आमाले कुनै पनि पत्रमा हस्ताक्षर नगरेको भनेपछि उनी कैलाश बिकास बैंकसँग किर्ते काण्ड र बैंकले गरेको मिसबिहेबका विरुद्धमा लडिरहेका छन् ।