काठमाडौं । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका छन् । गभर्नर नियुक्तिका लागि छनोट समिति गठन गर्न ढिला भएन भन्ने प्रश्नको जवाफमा सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हालेका खतिवडाले चैत ५ गतेसम्ममा नियुक्ति गर्न भ्याइने जवाफ दिए । डा. खतिवडाले विसं २०७१ चैत ५ गते पाँचवर्षे कार्यकाल पूरा गरी आफू गभर्नरबाट बाहिरिने अन्तिम दिन मात्र सरकारले नयाँ गभर्नर नियुक्ति गरेको उदाहरण दिँदै भने, ‘म पनि १ महीनाअघि होइन, अन्तिम समयमै नियुक्त भएको थिएँ । हालका गभर्नरलाई पनि सरकारले चैत ५ गते दिन ३ बजेतिर मात्र नियुक्ति गरेको थियो । त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको थिएँ ।’ सामान्यतया गभर्नरको कार्यकाल सकिनु १ महीनाअगावै आगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने प्रचलन छ ।
सरकारले नयाँ गभर्नरको नियुक्तिमा जति ढिलाइ गर्छ, त्यति नै दाबेदार व्यक्तिहरूको दौडधुप बढ्ने पूर्वगभर्नर गणेशबहादुर थापा बताउँछन् । गभर्नर नियुक्तिमा २० दिन मात्र बाँकी छ । यसबीच आधा दर्जन नाम सम्भावित गभर्नरका रूपमा बाहिर आएका छन् ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी, चार्टर एकाउन्टेन्ट (सीए) तथा हाल राष्ट्र बैंकका सञ्चालक समितिमा सदस्य रहेका डा. सुबोधकुमार कर्णदेखि पूर्वअर्थसचिव राजन खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वसचिव लालशंकर घिमिरेको नाम चर्चामा छ ।
डेपुटी गभर्नर शिवाकोटीले आफ्नो पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट विमोचन गराएर आफू प्रधानमन्त्रीको नजीक रहेको देखाएको विश्लेषण गरिँदै छ ।
राष्ट्र बैंकको डेपुटी गभर्नर भइसकेका अधिकारी केन्द्रीय बैंकबारे जानकार भएकाले उनी गभर्नर बन्ने सम्भावना पनि व्यक्त गरिँदै छ । अर्थमन्त्री खतिवडासँग निकट मानिएका अधिकारीको लगानी बोर्डमा कार्यकाल पनि सकिने बेला भएको छ ।
...