फागुन १४, काठमाडौं । माघ मसान्तसम्ममा एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डको नाफामा ४१ प्रतिशतले वृद्धि भएको छ । योजनाले पुस मसान्तसम्ममा रू. ९२ लाख १२ हजार नाफा कमाएकोमा माघ मसान्तमा वृद्धि भएर रू. १ करोड ३० लाख पुगेको छ ।
त्यसैगरी योजनाको प्रति इकाई खुद मूल्यमा पनि वृद्धि भएको छ । यो मूल्य पुस मसान्तसम्ममा रू. १० दशमलव ४२ रहेकोमा माघ मसान्तमा वृद्धि भएर रू. १० दशमलव ६१ पुगेको छ ।
माघ महीनासम्म योजनाको धितोपत्र र बैंक निक्षेपमा ब्रोकर कमिशन सहितको लगानीको परल मूल्य रू. १० करोड २० लाख रहेको छ । यो लगानीको बजार मूल्य भने माघ महीनामा रू. १० करोड ८३ लाखभन्दा बढी छ । पुस महीनाको तुलनामा धितोपत्र तथा अन्य लगानीको बजार मूल्य माघ महीनामा उल्लेख्य मात्रामा बढेको हो ।









