हिमालयन बैंकको बुधबार सम्पन्न सत्ताइसौं वार्षिक साधारणसभा बैकका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो । उक्त साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयरको वितरणपश्चात् बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ रुपैयाँ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले गराए ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सिर्जनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिए । उक्त सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसीप्रसाद गौतम, सुनीलबहादुर थापा र आशिष शर्मा निर्विरोध निर्वाचित भए ।








