१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो ६ चैतमा अवकाश पाउँदैछन् । कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भए पनि गभर्नर नेपाल बिदामा बसेका छैनन् ।
विदामा नबस्नुको मुख्य कारण हो, नयाँ गभर्नरका लागि सिफारिस नहुनु । गभर्नर नियुक्तिका लागि छनोट समिति गठनमा ढिलाइ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति लागि एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख गरिएको छ ।
सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका मध्ये एकजनालाई मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।
गभर्नर नेपालको कार्यकाल सकिन एक महिना पनि बाँकी छैन, तर पनि सरकारले यस विषयमा खासै ध्यान दिएको छैन् । ऐनमा उल्लेख भए अनुसार सिफारिस समितिको अध्यक्ष अर्थमन्त्री नै हुनेछन् । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने सिफारिस समितिको सदस्यहरुमा एक जना पूर्व गभर्नर हुनेछन् भने अर्को एक जना विज्ञ व्यक्ति सरकारले तोक्नेछ ।
एक महिनाअघि नै गभर्नर नियुक्तिका लागि प्रक्रिया शुरु गर्नुपर्ने भए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले यस विषयमा हतार गरेका छैनन् । यता गभर्नर नियुक्तिमा ढिलाई भए पनि आकांक्षीहरुले राजनीतिक लबिङ भने तीब्र बनाएका छन् ।
राष्ट्र बैंकको गर्भनर प्रशासन क्षेत्रमा आकर्षक पद मानिन्छ । सरकार ढुकुटी रहने राष्ट्र बैंकलाई बैंकहरुको पनि बैंक भनिन्छ । नयाँ जारी हुने नोटमा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर रहन्छ ।
राजनीतिक नेतृत्वमा घरघरमा यतिबेला आकांक्षीहरु दौडधुप गरिरहेका छन् । गभर्नरको बलियो दाबेदारका रुपमा हेरिएका बहालवाला डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी स-परिवार बालुवाटार छिरेका थिए ।
सिवाकोटीले आफूले लेखेको पुस्तक विमोचन गराउनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन् । यद्यपि, उनले गभर्नर पद आफ्नो पोल्टामा पार्नका लागि बाटो खोज्दै बालुवाटार नै पुगेर भए पनि पुस्तक विमोचन गराएको उनी निकट श्रोत बताउँछ ।
...