काठमाडौँ, फागुन ९ गते । बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका लागि १० अर्ब रुपियाँ बराबरको रिपो जारी गर्ने भएको छ ।
राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गर्न लागेको हो । राष्ट्र बैङ्कले एक हप्ताका लागि वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूले लगानी गर्न पाउने गरी रिपो जारी गर्न लागेको हो । रिपोमा सहभागी हुन चाहने बैङ्कलाई बिहीबार (फागुन ८ गते) दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने व्यवस्था गरेको थियो । यो रिपो आगामी फागुन १५ गते परिपक्व हुने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएका बेला तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्न) रिभर्स रिपो जारी गर्दै आएको छ भने तरलता कम भएका बेला रिपोमार्फत बैङ्किङ प्रणालीमा पैसा पठाउने गर्दै आएको छ ।
छ महिनामा ५८ अर्ब प्रशोचन
राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७६/७७ को छ महिनामा खुला बजार कारोबारमार्फत कुल ५८ अर्ब रुपियाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड रुपियाँ र स्थायी तरलता सुविधामार्फत ५२ अर्ब ५५ करोड रुपियाँ गरी कुल ९२ अर्ब सात करोड रुपियाँ तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत छ अर्ब ७२ करोड रुपियाँ तरलता प्रवाह भएको थियो ।
...