नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा आधारित रहेर देशको आर्थिक एवम् वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८२ प्रतिशत छ । ६ महिनाको औसत मुद्रास्फीति ६.४१ प्रतिशत छ । आयात ४.० प्रतिशतले घटेको छ भने निर्यात २६.१ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ०.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति रु.१०९५ अर्ब ९८ करोड बराबर कायम भएको छ । उक्त सञ्चिति ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.३७८ अर्ब १७ करोड र राजस्व परिचालन रु.४८३ अर्ब ७२ करोड छ । विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १६.३ प्रतिशत र कर्जाको वृद्धिदर १५.१ प्रतिशत छ ।
मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
१. २०७६ पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ ।
२. समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।
३. समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ पुसमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
४. समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेकोमा भारतमा यस्तो (जनवरी महिनाको) मुद्रास्फीति ७.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.५८ प्रतिशत र २.०५ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति
५. २०७६ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ ।
६. समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२० प्रतिशत, ७.५८ प्रतिशत र २.५० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ५.०६ प्रतिशतले घटेको छ ।
तलव तथा ज्यालादर सूचकाङ्क
७. २०७६ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.०४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९.३० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.०६ प्रतिशतले बढेको छ ।
बाह्य क्षेत्र वैदेशिक व्यापार
...