काठमाडौँ — कृषि क्षेत्रमा तोकिएको न्यूनतम कर्जा नपुर्याएपछि राष्ट्र बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई चार करोड रुपैयाँ जरिवाना गरेको छ । एनबी बैंकले गत असारसम्म कृषि क्षेत्रमा तोकिएको न्यूनतम कर्जा पुर्याउनुपर्ने थियो ।
गत असारसम्म वाणिज्य बैंकहरूले कृषिमा कुल कर्जाको न्यूनतम १० प्रतिशत, ऊर्जा तथा पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । सो अवधिमा ऊर्जा र पर्यटनमा तोकिएको कर्जा पुगे पनि कृषिमा कुल कर्जाको ८.५२ प्रतिशत मात्र लगानी भएको थियो । यही कारण राष्ट्र बैंकले कारबाही गरेको हो ।
२७ वाणिज्य बैंकमध्ये तोकिएको क्षेत्रमा कर्जा नपुगेको भन्दै कारबाहीमा पर्ने बैंक एनबी मात्र हो । ‘कृषिमा न्यूनतम कर्जा नपुगेपछि बैंकले प्रवाह गर्दै आएको उच्च ब्याजदर १७ प्रतिशतका दरले हर्जाना लगाइएको हो,’ बैंक स्रोतले भन्यो । असारसम्म कृषिमा १० प्रतिशत लगानी नपुगे पनि असोजसम्म पुगेको छ । राष्ट्र बैंकले भने असारसम्मको कर्जाका आधारमा कारबाही गरिएको हो ।
राष्ट्र बैंकका अनुसार गत असारसम्म वाणिज्य बैंकहरूले करिब ७ खर्ब १६ अर्ब रुपैयाँ कृषि, ऊर्जा र पर्यटनमा लगानी गरेका छन् । यो बैंकहरूको कुल कर्जा तथा सापटीको करिब ३० प्रतिशत हो । वाणिज्य बैंकले कुल कर्जा तथा सापटीको न्यूनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्र (कृषि, ऊर्जा र पर्यटन) मा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था छ । हाल सो व्यवस्था परिमार्जन गरेर राष्ट्र बैंकले प्राथमिक क्षेत्रको दायरा फराकिलो बनाएको छ ।
नयाँ व्यवस्थामा पनि बैंकहरूले कृषिमा कुल कर्जाको १० प्रतिशत लगानी गर्नुपर्छ । ०७५ पुससम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापटीको करिब ३०.२५ प्रतिशत छ ।
...