नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने तथ्याङ्क समयमा नआउँदा नीति निर्माता तथा वित्त क्षेत्रका विश्लेषकहरूलाई वित्तीय विश्लेषण गर्न समस्या हुन थालेको छ ।
अर्थ बिश्लेषक डा.रवीन्द्र पाण्डेका अनुसार दुई महिना अघि प्रकाशित तथ्याङ्कको आधारमा वर्तमान अवस्थाको विश्लेषण र प्रक्षेपण गरिएकै कारण धेरै जसो विश्लेषण र प्रक्षेपण मेल खान छाेडेकाे छ। केन्द्रीय बैंकले दुई समूह (मुद्रा स्फिति र तरलता प्रवाह) को तथ्याङ्कलाई जति सक्दो चाँडै प्रकाशित गर्ने व्यवस्था मिलाउनु पर्ने पाण्डेको सुझाव छ ।
केन्द्रीय बैंकले मुद्रा स्फिति मापन गर्न पछिल्लो समय उपभोक्ताले उपभोग गर्ने बस्तुको मूल्यलाई आधार मान्ने गरेको छ । जसको लागि उसले 'कन्जमसन बास्केट गुड्स' अन्तर्गत उपभोग गर्ने बस्तुको सूची एउटै डालोमा राख्छ । त्यहाँ परेका सबै बस्तुको उपभोगको आधारमा दैनिक, साप्ताहिक र मासिक मूल्य सूची हुने गर्छ । जसको मूल्यलाई तुलना गरेर उसले मुद्रा स्फिति अवस्था मापन गर्ने गर्छ ।
यसैको आधारमा बजारमा कति तरलता प्रवाह गर्ने र कति प्रशोचन गर्ने भन्ने निर्धारण हुन्छ । यसैलाई आधार बनाएर केन्द्रीय बैंकले हरेक सोमबार 'ओपन मार्केट अपरेसन' गर्छ ।
'तर पूरा तथ्याङ्क नआई गरिएको तरलता प्रवाह र प्रशाेचनले ठ्याक्कै काम नगरेको हो' पाण्डेले भने ।
बैकिङ प्रणालीमा भएको रकमको आधारमा बजारमा भएको तरलताको अवस्थाको मापन गरिन्छ । त्यो समेत फेल हुने गरेको उनको भनाई छ । किनकि बजारमा यति बेला केन्द्रीय बैंकबाट प्रवाह भएको रकम सहकारीमा समेत पुगेकाे छ । तर त्यसको एकिन विवरण आउँदैन । बैकिङ च्यानलमा भएको रकमको आधारमा केन्द्रीय बैंकले अनुमानित प्रवाह र प्रशाेचन गर्ने भएकोले तरलता समस्या देखिने गरेको पाण्डेको ठम्याई छ ।
यसैले केन्द्रीय बैकले ताजा र एकिन तथ्याङ्कलाई आधार बनाउनु पर्ने आवश्यकता उनले औँल्याए । मौद्रिक नीति सार्वजनिक गर्ने बेलामा र समीक्षा गर्ने बेलामा मात्रै नजिकको तथ्याङ्क हेर्ने परम्परालाई जति सक्दो चाँडो परिवर्तन गर्नुपर्ने पाण्डेको सुझाव छ ।
वित्तीय क्षेत्रलाई मोनिटरिङ गर्ने दायित्व केन्द्रीय बैंकको हो । उसले अरू भन्दा एक कदम अघि बढेर पहिले नै समस्या र वर्तमान अवस्था थाहा पाउनुपर्छ । त्यसको आधारमा नीति परिवर्तन गर्न र थप गर्न उसलाई सहयोग पुग्छ।
...