सिद्धार्थ बैंक लिमिटेड (SBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा सामान्य घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २ करोड खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड २८ लाख कम हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६ करोड नाफा आर्जन गरेको थियो। बैंकको सञ्चालन तथा गैर सञ्चालन खर्चहरु बढेपछि नाफामा संकुचन देखिएको हो।
९ अर्ब ७८ करोड ७७ लाख चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १० करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब ५४ करोड निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको यस बैंकले सो अवधिसम्ममा २ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा ४८ करोड ५० लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १३ लाख ४३ हजार रुपैयाँ घटेर १ अर्ब ५२ करोड ५ लाखमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ३२ करोड १८ लाख रुपैयाँ बढेर १ अर्ब ३ करोड ६८ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च १२ करोड ४६ लाखबढेर ४४ करोड ३२ लाख पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा घटेको हो।