हिमालयन बैंकले थप सार्वजनीक निष्काशन (एफपीओ) जारी नगर्ने भएको छ । यस अघि संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन बैंकले एफपिओ जारि गर्ने चर्चा चलेपनि बैंकले सार्वजनिक निष्काशन बिना नै अनुपात मिलाउने तयारी गरेको हो ।
बैंकले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम गर्नको लागि संस्थापक शेयरलाई नै साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पठाएको छ । हाल हिमालयन बैंकको संस्थापक र साधारण शेयर संरचना ८५ः१५ प्रतिशत रहेकोमा राष्ट्र बैंकले त्यस अनुपातलाई ७०ः३० कायम गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन बमोजिम बैंकले १५ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव गरेको हो ।
राष्ट्र बैकले सुरुमा बैंकलाई शेयर संरचना परिवर्तन गर्नको लागि एफपीओ बाटो अपनाउन निर्देशन दिएको थियो । तर बैंकमा पाकिस्तानको हविब बैंकको २० प्रतिशत शेयर रहेको छ । संयुक्त लगानीको बैंकमा २० प्रतिशत भन्दा माथि शेयर विदेशी साझेदारको हुनुपर्ने ब्यवस्था रहेको छ । एफपीओ विक्रि गर्दा हविबको शेयर स्वामीत्व २० प्रतिशतबाट घट्ने भएपछि राष्ट्र बैंक लचक हुँदै संस्थापकलाई साधारणमा परिवर्तन गर्न सहमत भएको स्रोतले जनाएको छ ।
बैंकले १५ प्रतिशत शेयर रुपान्तरण गर्नु पर्ने भएपनि एक पटकमा १० प्रतिशत भन्दाबढी माथि संस्थापक शेयरलाई साधारणमा परिवर्तन गर्न नपाईने कानुनी ब्यवस्था छ ।उक्त ब्यवस्थाको कारण बैंकले सुरुमा यो वर्ष १० प्रतिशतलाई मात्र साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव राष्ट्र बैंकमा पठाएको थियो । तर राष्ट्र बैंकले विशेष परिस्थितिको कारण १५ प्रतिशतलाई नै परिवर्तन गर्न दिने बताएपछि १५ प्रतिशतलाई नै साधारणमा परिमार्जन गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा बताउँछन् ।
...







