माघ ३, काठमाडौं । सानिमा बैंकले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।
यो ऋणपत्र विक्री गर्न सानिमाले नेपाल धितोपत्र बोर्डमा पुस २७ गते निवेदन दिएको हो । विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले पूरा गर्नेछ । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थालाई सानिमा बैंकले पनि कार्यान्वयन गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ ।








