कृषि विकास बैंक ५९औँ वर्षमा प्रवेश, कृषक र उद्यमीका लागि डिजिटल बिजनेस योजना सार्वजनिक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कृषि विकास बैंक ५९औँ वर्षमा प्रवेश, कृषक र उद्यमीका लागि डिजिटल बिजनेस योजना सार्वजनिक

काठमाडौं - नेपालको कृषि तथा ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि विकास बैंक लिमिटेड ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले कृषक र कृषि उद्यमी लक्षित ‘एक मिनेटमै व्यावसायिक योजना’ तयार गर्ने सफ्टवेयर सार्वजनिक गरेको छ।

बुधबार काठमाडौंमा आयोजित समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतले हालसम्मको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।

प्रविधिमैत्री सेवा विस्तार
‘कृषक तथा कृषि उद्यमीलाई प्रोत्साहन, कृषि विकास बैंकको अभियान’ नारासहित बैंकले नयाँ कार्यक्रम अघि सारेको छ। बैंकका अनुसार नयाँ सफ्टवेयरमार्फत साना कृषक र उद्यमीले नि:शुल्क रूपमा एक मिनेटभित्रै आफ्नो व्यवसायिक योजना बनाउन सक्नेछन्।

यससँगै बैंकले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘च्याटबोट’ सेवा पनि सुरु गरेको छ, जसले २४ सै घण्टा ग्राहकका जिज्ञासा सम्बोधन गर्ने बताइएको छ।

वित्तीय सूचकमा सुधार
बैंकले पछिल्लो एक वर्षमा वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको जनाएको छ। सार्वजनिक तथ्यांकअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.६२ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

कुल निक्षेप २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब २४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जा अनुपात ३.९१ प्रतिशतबाट घटेर ३.४४ प्रतिशतमा झरेको बैंकको दाबी छ।

‘कृषिलाई नछोड्ने, अरूलाई जोड्ने’ नीति
बैंकले ‘कृषिलाई नछोड्ने र अरू क्षेत्रलाई जोड्ने’ रणनीति अवलम्बन गरेको जनाएको छ। कुल कर्जा वृद्धिको ५० प्रतिशत हिस्सा कृषि क्षेत्रमा केन्द्रित गर्ने लक्ष्य लिइएको बैंकले बताएको छ।

समारोहमा प्रस्तुत अवधारणाअनुसार ‘फोकस इन वान, ओपन टु अल’ रणनीतिअन्तर्गत भौगोलिक सम्भावनाका आधारमा कुनै एक विशिष्ट कृषि उत्पादनमा केन्द्रित भएर कर्जा प्रवाह गरिनेछ।

अन्तर्राष्ट्रिय सहकार्य र परियोजना
बैंकले अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) सँगको सहकार्यमा ‘भिटा’ कार्यक्रम र विश्व बैंकको सहयोगमा ‘समृद्धिका लागि वन’ परियोजना सञ्चालन गरिरहेको जनाएको छ। यस्तै, दक्षिण कोरियाबाट सीप सिकेर फर्किएका नेपालीलाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने सम्झौता कार्यान्वयनमा रहेको छ।

देशव्यापी पहुँच र डिजिटल विस्तार
हाल कृषि विकास बैंकका २७५ शाखा र २२ एक्सटेन्सन काउन्टरमार्फत देशका ७७ वटै जिल्लामा सेवा उपलब्ध रहेको छ। बैंकका अनुसार २१ लाख ५० हजारभन्दा बढी बचतकर्ता र १ लाख ५३ हजारभन्दा बढी कर्जा ग्राहक बैंकसँग आबद्ध छन्।

डिजिटल बैंकिङतर्फ क्युआर कोड, मोबाइल र इन्टरनेट बैंकिङ सेवालाई ग्रामीण तहसम्म विस्तार गर्ने अभियान तीव्र पारिएको बैंकले जनाएको छ। आगामी पाँच वर्षका लागि नयाँ रणनीतिक योजना (२०८१–८६) स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि बैंकको भनाइ छ।

  • MBL - below news