एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा भएको हो।
साधारण सभामा बैंकका सञ्चालक, शेयरधनी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सभाका क्रममा शेयरधनीहरूले बैंकको वित्तीय अवस्था, सेवा विस्तार र भावी रणनीतिबारे आफ्ना धारणा राखेका थिए।
सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २०८२ असार मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिमा बैंकको कुल निक्षेप २८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २४३ अर्ब ३ करोड रुपैयाँ रहेको छ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।





