महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए।
सभाले २०८२ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसहितका वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै सञ्चालक समितिको प्रस्तावअनुसार कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको छ। यसअन्तर्गत ५.३७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ को अन्त्यमा वित्तीय सूचकहरूमा सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। सोही अवधिमा बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ रहेको छ।
सभाले बैंकको नियमावलीअनुसार संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचन गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरी र ग्रोइङ प्रा.लि.का तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्। सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्ष चयन गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले शेयरधनीबाट प्राप्त सुझावलाई आत्मसाथ गर्दै ग्राहक सन्तुष्टि र लगानीमा उचित प्रतिफल सुनिश्चित गर्न बैंकका सेवा र गतिविधि थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे। साथै उनले शेयरधनी र सरोकारवालाप्रति सहयोगका लागि धन्यवाद ज्ञापन गरे।







