कृषि विकास बैंक लिमिटेडले नेपाल बार एशोसिएसन काठमाडौंलाई कम्प्युटर, प्रिन्टर, स्क्यानर, फोटोकपी मेसिन तथा स्मार्ट डिस्प्ले बोर्डलगायतका सामग्री हस्तान्तरण गरेको छ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा बार एशोसिएसनको भवनमा आगलागी भई क्षति पुग्दा सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि त्यसलाई पुनः सहज र प्रभावकारी बनाउन बैंकले सहयोग उपलब्ध गराएको हो।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बुधबार आयोजित कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले उक्त सामग्री नेपाल बार एशोसिएसन काठमाडौंलाई हस्तान्तरण गरेको जनाएको छ। यस सहयोगले बार एशोसिएसनको दैनिक प्रशासनिक तथा न्यायिक कार्यसम्पादनलाई सहज बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
कृषि विकास बैंक लिमिटेडले यसअघि पनि भदौ २४ गतेको आन्दोलनबाट प्रभावित भई क्षतिग्रस्त सेवा तथा संरचना पुनः सञ्चालनमा सहयोग पुर्याउने क्रममा काठमाडौं जिल्ला अदालत, कीर्तिपुर नगरपालिका, प्रहरी बिट सातदोबाटो लगायत विभिन्न सरकारी निकायलाई यस्तै प्रकृतिका सामग्री सहयोग गर्दै आएको जनाएको छ।
बैंकले सामाजिक उत्तरदायित्वलाई संस्थागत प्राथमिकतामा राख्दै भविष्यमा पनि सार्वजनिक हितका लागि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





