काठमाडौँ - प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सरकारी वकिल कार्यालय, काठमाडौँले हाजिर जमानतमा छाड्ने निर्णय गरेको छ। अदालतले माग गरेअनुसारका प्रमाण तत्काल संकलन हुन नसकेको र स्वास्थ्य अवस्थालाई समेत आधार मानेर उनलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउने निर्णय लिइएको हो।
यस निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका शेरचन रिहा भएका छन्। सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले अनुसन्धानका केही प्रक्रिया अझै बाँकी रहे पनि सरकारी वकिलको निर्देशनपछि हिरासत अवधि थप नगरिएको जानकारी दिए।
विशेष सरकारी वकिल कार्यालय, काठमाडौँका प्रमुख मोहनकुमार बस्यालका अनुसार यसअघि म्याद थपका क्रममा विशेष अदालतको इजलासले तोकेका थप प्रमाण तत्काल उपलब्ध नभएपछि बाहिरै राखेर अनुसन्धान गर्न सकिने निष्कर्षमा कार्यालय पुगेको हो। उनले स्वास्थ्यसम्बन्धी कारण पनि निर्णयमा जोडिएको बताए।
यस प्रकरणमा शेरचनसँगै प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले १४ मंसिरमा बैंकको केन्द्रीय कार्यालय, विजुलीबजारबाट नियन्त्रणमा लिएको थियो।





