काठमाडौँ - मनाङमा निर्माणाधीन ६१ मेगावाट क्षमताको नार खोला जलविद्युत आयोजना निर्माणका लागि कुमारी बैंकको नेतृत्वमा पाँच बैंकले संयुक्त लगानी गर्ने भएका छन्। आयोजना प्रवर्द्धक नार खोला हाइड्रो इनर्जी प्रालि र कुमारी बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरिएको हो।
सम्झौतामा कम्पनीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गरेका थिए। मनाङको नार्पा भूमि र नासोँ गाउँपालिकामा अवस्थित नार खोला तथा सोती खोलाको पानीलाई एकीकृत गरेर आयोजना अघि बढाइनेछ।
यो आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको परियोजनामा पर्छ। कुमारी बैंक मुख्य अगुवा र नेपाल एसबिआई बैंक सह-अगुवा रहनेछन् भने कृषि विकास बैंक, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंक सहभागी संस्थाहरू हुनेछन्।
५८८.८२ मिटर ग्रस हेड रहेको आयोजनाले वार्षिक झण्डै ३६६ गिगावाटघण्टा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। करिब ८ किलोमिटर लामो हेडरेस टनेलमार्फत पानी आपूर्ति गरी नासोँ गाउँपालिकामा विद्युत गृह निर्माण गरिनेछ। उत्पादन हुने ऊर्जा मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेशनमा जोडिने योजना छ।
करीब १२ अर्ब ८४ करोड लागत अनुमान गरिएको परियोजनामा ९ अर्ब ६३ करोड बैंक कर्जा र ३ अर्ब २१ करोड स्वपूंजी रहनेछ। कम्पनीका अनुसार सिंगटी हाइड्रो इनर्जी लिमिटेड परियोजनाको प्रमुख लगानीकर्ता हुनेछ।







