दिगो विकासका लक्ष्य (Sustainable Development Goals – SDGs) हासिल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार योगदान पुर्याउने उद्देश्यले कुमारी बैंकले ‘ग्रीन सेभिङ डिपोजिट अकाउन्ट’ नामक नयाँ बचत योजना सार्वजनिक गरेको छ।
‘एक खाता, एक रुख’ सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत बैंकले खोलिने प्रत्येक खाताको नाममा एक रुख रोप्ने जनाएको छ। यस माध्यमबाट ग्राहकहरू प्रत्यक्ष रूपमा नभए पनि वातावरण संरक्षणमा सहभागी हुने अवसर पाउने बैंकले जनाएको छ।
यस योजनामा सहभागी हुने खातावालहरूले साधारण बचत खाताभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर, एक लाख रुपैयाँसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा र योग्यता अनुसार दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा प्राप्त गर्नेछन्।
बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार, “यस योजनाबाट संकलित निक्षेप वातावरणमैत्री र दिगो विकास प्रवर्द्धन गर्ने क्षेत्रमा लगानी गरिनेछ। एक खाता बापत एक रुख रोप्ने प्रावधानले वातावरण संरक्षणमा दोहोरो प्रभाव पार्नेछ।”
कुमारी बैंकले यो योजना सबै शाखामार्फत सञ्चालनमा ल्याएको छ। इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखाबाट विस्तृत जानकारी लिन सक्नेछन्।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउण्टर र ४८ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ। बैंकले आगामी दिनमा अझ सरल, सुलभ र दिगो बैंकिङ सेवाका लागि थप सहकार्य र नवप्रवर्तन अघि बढाउने प्रतिबद्धता जनाएको छ।







