काठमाडौं, साउन १३ – हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको थप सार्वजनिक सेयर (एफपीओ) को बाँडफाँट आज मंगलबार सम्पन्न भएको छ। बैंकको कमलादीस्थित मुख्य कार्यालयमा बिहान ९ बजे बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँ मूल्यमा असार ३१ गतेदेखि साउन ४ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। यस अन्तर्गत जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्रीमा ल्याइएको थियो।
एफपीओमा अत्यधिक माग देखिएको थियो। कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन वैध ठहर गरिएको छ भने बाँकी आवेदन रद्द गरिएको छ।
मागभन्दा बढी आवेदन परेपछि बाँडफाँट गोलाप्रथाबाट गरिएको हो। यसअनुसार ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी बचेका ९ कित्ता सेयर भने २० कित्ताको लागि आवेदन दिने मध्ये ९ जना भाग्यमानी लगानीकर्तालाई थप १ कित्ताका दरले बाँडफाँट गरिएको छ। ती ९ जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।





