काठमाडौं । अहिले बजारमा अधिक तरलताको अवस्था छ । बैंकहरुमा जम्मा भएको पैसा लगानी गर्न नसकेपछि निक्षेपकर्तालाई दिने ब्याज नै घटाइदिएको अवस्था छ ।
राष्ट्र बैंकले क्याप लगाएका कारण बचत खातामा तल जान नसकेका बैंकहरुले संस्थागत खाताहरुको ब्याजदरलाई तीन प्रतिशत भन्दा समेत तल झार्न थालिसकेका छन् । तर, त्यस्ता बैंकको निक्षेप अझै बढिरहेकै छ । निक्षेप बढ्ने तर कर्जा माग नहुने कारणले राष्ट्र बैंकले जारी गरेको एक खर्बको निक्षेप उपकरणमा २ खर्ब भन्दा धेरैको आवेदन पर्ने अवस्था समेत देखिएको छ ।
तर, एनआईशी एशिया बैंकको अवस्था भने उल्टो छ । निक्षेप जोगाउनकै लागि बैंकले हरेक प्रकारका निक्षेपमा अरु बैंकभन्दा बढी ब्याज दिन बाध्य भएको छ । सोही कारण कुनै समय सबैभन्दा कम लागतमा स्रोत जुटाएको बैंक यतिबेला सबैभन्दा धेरै कस्ट अफ फण्ड भएको बैंक बन्ने अवस्थामा पुगेको छ ।
असोज मसान्तसम्मको एनआईशी एशियाको कस्ट अफ फण्ड ६.३० प्रतिशत रहेको देखिन्छ । यो तेस्रो सर्वाधिक बढी लागतको बैंक हो । अहिले तरलता अभावको कारण बैंकहरुको लागत घटिरेको समयमा बैंकहरुले यसलाई लागत घटाउने अवसरको रुपमा लिँदा एनआईशी एशिया भने त्यसमा पनि कमजोर देखिन्छ ।
अघिल्लो वर्षको असोज मसान्तलाई अहिलेको असोज मसान्तको अवस्थासँग तुलना गर्दा एनआईशी एशियाको कस्ट अफ फण्ड २.०१ प्रतिशतले घटेको देखिन्छ । यो यसअघि नै कस्ट अफ फण्ड कम भएको राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकपछिकै सबैभन्दा कम हो । यसपटक कृषि विकास बैंकले झण्डै ३.०८ प्रतिशत विन्दुले कस्ट अफ फण्ड घटाएको छ ।
ब्याजदर सबैभन्दा बढी
कस्ट अफ फण्ड घटाउने उपाय भनेकै ब्याजदर घटाउने हो । एनआईशी एशियाले सबै प्रकारका सेगमेन्टको ब्याज घटाएको छ । तर, अहिले पनि सबैभन्दा बढी ब्याज उसकै देखिन्छ । मंसिरमा त्यसो त अहिले सबै सेगमेन्टमा सबैभन्दा धेरै ब्याज दिने बैंक यही छ । बैंकले बचत खातामा ६.१० प्रतिशतसम्म र मुद्दती खातामा ६.७९ प्रतिशतसम्म ब्याज दिनेगरी तालिका सार्वजनिक गरेको छ । यो वाणिज्य बैंकरुमध्येकै सबैभन्दा धेरै हो ।
बैंकले ब्याज दिँदा सर्वसाधारणलाई फाइदा हुने भए पनि समग्र बजारमा ब्याजदर घट्दा कुनै बैंकको ब्याजदर घट्न सक्दैन भने यसलाई बैंकको अक्षमता मानिन्छ । अहिले एनआईशी एशिया बैंकमा यस्तै अक्षमता देखिएको छ ।
बैंकका एक अधिकारी विगतमा देखिएको विश्वासको संकटका कारण बैंकका समस्या आएको बताउँछन् । धेरै प्रोभिजनिङ गर्नुपर्ने घरजग्गा क्षेत्रको पैसा व्यीक्तगत आवासमा देखाएर बैंकले अर्बौं रुपैयाँ बराबरको नाफा र पुँजीकोष व्यवस्थापनमा छली गरेको आरोप लागेको थियो । त्यसपछि बैंक डुब्ने हल्लाले बैंकबाट अर्बौंको निक्षेप पलायन भएको थियो । सोही कारण धेरै ब्याज दिँदा समेत ग्राहकले पैसा राख्न डराउने गरेको एक कर्मचारी सुनाउँछन् । ‘मुद्दती खाताको रिन्यू गर्नै समस्या छ, सबै यो बैंक डुब्छ नराख्ने अब भन्दै आउँछन्, कसरी बुझाउनु ? कोही कसैले भनेको सुनेर आउँछन्, जति सम्झाए पनि केही लाग्दैन, समय सकिएपछि त पैसा दिनै पर्यो,’ बैंकको काठमाडौंकै एक शाखाका अधिकृत भन्छन्, ‘आक्रामक व्यवसायको नाममा पहिले जे जे भयो, अहिले त्यसको भुक्तानी गरिरहनुपरेको छ ।’ अघिल्लो वर्ष ३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप अहिलेको असोज मसान्तमा ३ खर्ब ३६ अर्ब रुपैयाँ देखिएको छ ।
कुनै समय तरलता अभाव हुँदा बैंकर्स संघको निर्णय समेत नमानेर भद्र समति उल्लंघन गर्ने बैंक बनेको थियो एनआईशी एशिया । त्यही कारण त्यतिबेला अरु बैंकले एनआईसीसँग अन्तरबैंक कारोबार गर्न समेत बन्द गरिदिएका थिए । पछि माफी मागेर र ब्याजदर घटाएपछि यसलाई सुचारु गरिएको थियो ।
कुनै बेला निक्षेप खातामै ८ प्रतिशत ब्याज दिएको बैंकले २ महिनाभित्रै १.५ प्रतिशतसम्म झारेको समेत थियो । यी हर्कतका कारण विश्वास गुमाउँदै गएको देखिन्छ । कुनै समय विभिन्न आकारमा आधारमा नम्बर वान दाबी गरिरहेको बैंक अहिले भने सबैजसो सूचकमा अन्तिम अवस्थामा पुगेको छ ।