नेपालमा बैंकिङ ठगीका घटना बढ्दै : एसएमएस ठगीबाट सावधानी अपनाउन सुझाव


  • KBL News Ad
  • ADBL
  • City Express
नेपालमा बैंकिङ ठगीका घटना बढ्दै : एसएमएस ठगीबाट सावधानी अपनाउन सुझाव

नेपालमा हालसालै बैंकिङ क्षेत्रसँग सम्बन्धित ठगीका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। विशेष गरी ठगहरूले विभिन्न बैंकहरूको नाममा एसएमएस मार्फत भ्रामक सन्देशहरू पठाई ग्राहकहरूलाई ठग्ने प्रयास गरिरहेका छन्। यसै क्रममा, एनआइसी एशिया बैंकले एक आधिकारिक विज्ञप्ति जारी गर्दै यस्ता ठगी सन्देशहरूको पहिचान गर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। बैंकले कुनै पनि आधिकारिक सन्देशमा व्यक्तिगत जानकारीको माग नगर्ने स्पष्ट पार्दै, ग्राहकहरूलाई यस्ता सन्देशहरूकाे आधारमा कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न जानकारी दिएको छ।

हालै, ठगहरूले एनआइसी एशिया बैंकको एसएमएस अलर्ट आईडीको दुरुपयोग गर्दै, बैंककै नाम जस्तै देखिने सन्देशहरू पठाउन थालेका छन्। यस्ता सन्देशहरूमा ‘प्रिय ग्राहक, तपाईंले हरेक ३० मिनेटमा आफ्नो ब्यालेन्स चेक गरिरहनुभएको छ। यदि तपाईं हामीमाथि विश्वास गर्नुहुन्न भने, कृपया रू। २९।८० फिर्ता गर्नुहोस्। धन्यवाद, NIC ASIA’ जस्ता त्रसित पार्ने खालका सूचना समावेश गरिएको पाइन्छ, जसले मानिसहरूलाई झुक्याई ठगीको शिकार बनाउने प्रयास गरिरहेको छ।

ठगीबाट कसरी जोगिने ?

ठगहरूले विभिन्न प्रलोभन देखाएर वा त्रास फैलाएर ग्राहकहरूलाई आफ्नो जालमा फसाउन खोजिरहेका हुन्छन्। विशेषगरी, बैंकहरूको नाममा झुठा सन्देश पठाएर व्यक्तिगत जानकारी माग्ने र आर्थिक कारोबार गर्न लगाउने ठगीका घटना बढ्दो क्रममा छन्। यस्ता ठगीहरूबाट जोगिन र सचेत रहन के गर्ने ?

व्यक्तिगत जानकारीको माग गर्ने एसएमएस वा इमेलप्रति सतर्क रहनुहोस्
बैंकहरूले कहिल्यै व्यक्तिगत जानकारी, पासवर्ड, पिन कोड, ओटीपी (One-Time Password) जस्ता विवरणहरू एसएमएस वा इमेल मार्फत माग्दैनन् । यदि तपाईँले यस्ता सन्देशहरू प्राप्त गर्नुभएको छ भने, त्यो नक्कली हुनसक्छ। ठगहरूले यस्तो सन्देशमा कुनै लिंक अथवा नम्बर दिएर व्यक्तिगत विवरण माग्ने गरेको पाइन्छ, जुन ठगीको एउटा प्रमुख तरिका हो। 

सन्देशको स्रोतको प्रमाणिकता पुष्टि गर्नुहोस्
यदि तपाईँले कुनै शंकास्पद सन्देश प्राप्त गर्नुभएको छ भने, सिधै बैंकसँग सम्पर्क गर्नुपर्छ। नजिकको बैंक शाखामा प्रत्यक्ष रूपमा सम्पर्क गरेर वा बैंकको आधिकारिक नम्बरमा फोन गरेर मात्रै आवश्यक जानकारी लिनु उत्तम हुन्छ। सन्देशमा रहेका लिंकहरूमा क्लिक नगर्नुहोस्, किनभने त्यसले तपाईँलाई ठगीको फन्दामा पार्न सक्छ।

आधिकारिक च्यानलबाट मात्रै कारोबार गर्नुहोस्
यदि कुनै जानकारीको सत्यता पत्ता लगाउनुपर्ने भएको खण्डमा, बैंकको आधिकारिक वेबसाइट, एप वा बैंकको शाखाबाट मात्र आवश्यक जानकारी लिनुहोस्। अनधिकृत वेबसाइट वा सन्देशमार्फत गरिएको कारोबारले तपाईँको व्यक्तिगत जानकारी तथा बैंक खाता सुरक्षित नरहन सक्छ। त्यसैले, कुनै पनि आर्थिक कारोबार गर्दा आधिकारिक च्यानलहरू प्रयोग गर्नुहोस्। 

शंकास्पद सन्देशहरूमा तुरुन्त प्रतिक्रिया नगर्नुहोस्
कुनै पनि शंकास्पद सन्देश प्राप्त भएमा, तत्कालै आफ्नो खाता रहेको बैंकको शाखामा सम्पर्क गर्नुहोस्। उदाहरणको लागि, एनआइसी एशिया बैंकको नाममा नक्कली सन्देशहरू पठाउँदै ठगहरूले "NICA Alert" नामको सर्ट कोड प्रयोग गरेर ग्राहकहरूलाई झुक्याउने प्रयास गरिरहेका छन्। यस्तो सन्देशको अाधारमा रहेर कुनै पनि कारोबार गर्नु हानिकारक हुन सक्छ।

समाजमा डिजिटल साक्षरताको महत्त्व बुझाउनुहोस्

ठगीबाट जोगिन र आफ्नो आर्थिक सुरक्षामा ध्यान दिन हामी सबैले सतर्कता अपनाउनुपर्छ। डिजिटल युगमा ठगीका नयाँ–नयाँ तरिकाहरूको प्रयोग भइरहेका कारण, यस्ता जोखिमहरूबाट बच्नका लागि व्यक्तिगत सतर्कता र डिजिटल साक्षरता अत्यावश्यक छ। समयमै सावधानी नअपनाउँदा ठगीको सिकार बन्न सकिन्छ, त्यसैले सचेत रहनुहोस्, आफ्नो जानकारी सुरक्षित राख्नुहोस् र यस्ता ठगीबाट जोगिनका लागि सबैलाई सुसूचित गराउनुहोस्। 

ठगीका यस्ता घटना आफ्नो वा आफ्नो परिवारको जीवनमा पनि नआओस् भन्नका लागि समयमै सचेत हुनु अत्यावश्यक छ। तपाइले यस्ता सूचना तथा सतर्कता सन्देशहरू आफ्ना साथीभाइ र परिवारसँग पनि साझा गर्नुपर्छ, जसले गर्दा उनीहरू पनि अनलाइन र एसएमएस ठगीबाट जोगिन सकून्। समाजमा डिजिटल साक्षरताको महत्त्व बुझाउनु, अनलाइन सुरक्षा अपनाउनु र ठगीबाट जोगिन सहयोग पुर्याउनु हामी सबैको जिम्मेवारी हो।

  • EBL Ad news