‘निर्देशित कर्जा’मा एनआईशी बैंक सबैभन्दा कमजोर, राष्ट्र बैंकको कारबाहीबाट कसरी बच्ला ?


  • KBL News Ad
  • ADBL
  • City Express
‘निर्देशित कर्जा’मा एनआईशी बैंक सबैभन्दा कमजोर, राष्ट्र बैंकको कारबाहीबाट कसरी बच्ला ?

काठमाडौं । निर्देशित क्षेत्रमा गर्नुपर्ने कर्जा प्रवाहमा एनआईशी एशिया बैंक सबैभन्दा कमजोर देखिएको छ । चैत महिनामा आधारित वित्तीय विवरण अनुसार बैंकहरुले अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने कृषि कर्जा, ऊर्जा क्षेत्रको कर्जा तथा विपन्न वर्ग कर्जा शीर्षकमा एनआईशी एशियाको अवस्था कमजोर देखिएको हो । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अहिले कृषि र ऊर्जा क्षेत्रमा कम्तीमा क्रमशः १० प्रतिशत र ५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ । आगामी असार मसान्तसम्म कृषि क्षेत्रमा ११ प्रतिशत, ऊर्जा क्षेत्रमा ६.५ प्रतिशत कर्जा प्रवाह पुर्याउनु पर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् व्यवस्था समेत गरेको छ । त्यस्तै, विपन्न क्षेत्र कर्जामा न्यूनतम ५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था कायम छ । 

तर, एनआईशी एशिया बैंक भने यी तीनवटै क्षेत्रमा कमजोर देखिएको छ । कमजोर मात्रै होइन कतिपय क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमा कायम गर्न नसक्दा कारबाहीमा पर्ने अवस्था समेत छ । 

चैत मसान्तसम्मको तथ्यांक अनुसार उक्त बैंकले ऊर्जा क्षेत्रमा १.३१ प्रतिशत मात्रै कर्जा प्रवाह गरेको छ । त्यस्तै, विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा कम्तीमा ५ प्रतिशत हुनुपर्नेमा एनआईशी एशियाले ४.९३ प्रतिशत मात्रै प्रवाह गरेको छ । कृषि क्षेत्र अन्तर्गत गैरखाद्य क्षेत्र समेत गरी मुस्किलले तोकिएको सीमा कटाएको छ । बैंकले कृषि तथा वन क्षेत्रमा ६.८२ प्रतिशत, मत्स्यपालन क्षेत्रमा १.०७ प्रतिशत र कृषिजन्य खाद्य तथा गैरखाद्य उद्योगमा ४.२८ प्रतिशत कर्जा प्रवाह गरेको छ । यो समेत गरी कुल कर्जा १२.१३ प्रतिशत पुग्छ । 

अहिले वाणिज्य बैंकको अवस्था हेर्ने हो भने कुल २५.५६ प्रतिशत कर्जा प्रवाह भएको छ । यसमध्ये कृषि तथा वन क्षेत्रमा ७.१६ प्रतिशत, मत्यपालन क्षेत्रमा ०.३२ प्रतिशत र कृषिजन्य गैरखाद्य उद्योग समेतमा १८.०८ प्रतिशत बराबरको कर्जा प्रवाह भएको देखिन्छ । त्यस्तै, विपन्न वर्ग कर्जा अन्तर्गत औसत ५.८९ प्रतिशत कर्जा प्रवाह भएको छ, जुन राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि हो ।

सबै क्षेत्रमा एनआईशी एशिया सबैभन्दा कमजोर

कर्जा प्रवाहको क्षेत्रमा कुनै समय आक्रामक देखिएको एनआईशी एशिया बैंक निर्देशित कर्जामा भने सबैभन्दा कमजोर छ । निर्देशित तीनवटै क्षेत्रमा बैंकको कर्जा प्रवाह बैंकिङ क्षेत्रकै सबैभन्दा कम हो । 

कृषि क्षेत्रमा अहिले सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक कृषि विकास बैंक हो । यो बैंकले कुल कर्जाको झण्डै ३० प्रतिशत रकम कृषि ताथ वनजन्य क्षेत्रमा प्रवाह गरेको छ । कृषि वन, मत्स्यपालन तथा अन्य गैरखाद्य उद्योग समेतमा गरेको लगानीको आधारमा हिमालयन बैंक सबैभन्दा अगाडि छ । उक्त बैंकले ४०.०२ प्रतिशत कर्जा यो शीर्षकमा प्रवाह गरेको देखिएको छ । 

तर, यही शीर्षकका कर्जाहरुमा एनआईशी एशिया १२.१७ प्रतिशतमा सीमित छ । जब कि दोस्रो सर्वाधिक कमजोर रहेको प्राइम कमर्सियल बैंकले समेत १७.५५ प्रतिशत कर्जा प्रवाह गरेको छ । 

उता, ऊर्जा क्षेत्रमा एनआईशी एसियाले १.३१ प्रतिशत मात्रै कर्जा प्रवाह गरेको छ । यो क्षेत्रमा सबैभन्दा बढी कर्जा लगानी गर्ने एनएमबि बैंकले ११.०५ प्रतिशत कर्जा प्रवाह गरेको देखिन्छ। एनआईशी एसियाभन्दा दोस्रो कमजोर रहेको कृषि विकास बैंकले ३.२२ प्रतिशत कर्जा यो शीर्षकमा प्रवाह गरेको छ । 

विपन्न वर्ग कर्जामा भने तोकिएको ५ प्रतिशतको सीमामा नपुर्याउने चारवटा बैंक छन्, त्यसमध्ये एउटा एनआईशी एशिया रहेको छ । यसरी तोकिएको सीमामा कर्जा प्रवाह गर्न नसक्ने बैंकहरुमा एनआइशी एशिया बाहेक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र एभरेष्ट बैंक छन् । यो क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह कृषि विकास बैंकको १३.९३ प्रतिशत भएको देखिन्छ । 

 निर्देशित कर्जाको एउटा क्षेत्रमा कमजोर देखिएका बैंक पनि अर्को क्षेत्रमा बलियो देखिन्छ । उदाहरणको लागि ऊर्जा क्षेत्रमा कमजोर रहेको कृषि विकास बैंक कृषि क्षेत्रमा बलियो छ । कृषि क्षेत्रमा कमजोर रहेको प्राइम कमर्सियल बैंक ऊर्जा क्षेत्रमा तुलनात्मक रुपमा बलियो छ । सो बैंकले ऊर्जामा १०.८९ प्रतिशत कर्जा प्रवाह गरेको जनाएको छ । 

तर, एनआईशी एशिया बैंक भने तीनवटै क्षेत्रमा कमजोर देखिएको छ । यसको सट्टा बैंकले आफ्नो ऋण प्रवाह उपभोग्य क्षेत्र तथा व्यापारिक क्षेत्रमा केन्द्रित गरेको छ । यी दुई क्षेत्रमा मात्रै बैंकले कुल कर्जाको ६१.६० प्रतिशत प्रवाह गरेको छ । यो कर्जा तुलनात्मक रुपमा बढी जोखिमपूर्ण र केन्द्रीय बैंकको प्राथमिकतामा नपरेको क्षेत्र हो ।

  • EBL Ad news