नेष्डो समृद्ध लघुवित्तको लाभांश विवादबारे आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । आज न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो।
सो इजलाशमा यो मुद्दाको पेशी दोस्रो नम्बरमा नै तोकिएको छ । यो रिटको सुनुवाईको लागि जेठ १६ मा पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेपछि आज सुनुवाई हुन लागेको हो।
कम्पनीले आफुले प्रस्ताव गरेको लाभांश नै वितरण गर्न पाउनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर जेठ ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा जेठ ९ गते न्यायधीश सुष्मालता माथेमाको एकल इजलाशले लाभांश घटाउने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । साथै राष्ट्र बनकको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आज जेठ २४ गते दुवै पक्षबीच छलफल हुन लागेको हो ।







