नेपाल लाइफ इन्स्योरेन्स(NLIC)ले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । जेठ २२ गते आयोजित एक कार्यक्रमबीच यस कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव राज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन् ।
करिव ३,२२० वर्ग फीटमा फैलिएको उक्त भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ ।
उद्घाटन समारोहमा बोल्दै कम्पनीका संचालक समितिका सदस्य कमलेश अग्रवालले निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको बताए । अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपालको जनसंख्याको करिव १० प्रतिशत जनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सुचांकहरुको आधारमा अब्बल रहदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित रहेको बताए ।





