१७ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर एकतर्फी रुपमा तोडेका छन् । मर्जर सहमति भएको करिब एक वर्षपछि सीईओ महतोले मर्जर गर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकमा पत्राचार गरेका हुन् ।
गत वर्ष असोजमा यी दुई संस्थाहरुबीच मर्जर सहमति भएको थियो । समाजका सीईओ महतो मर्जरको विषयमा शुरु देखि नै सकारात्मक थिएनन् । संस्थाको सीईओ भएपनि सञ्चालक समितिमा समेत महतो निकै बलिया छन् । आफू र श्रीमती सावित्री महतोको नाममा कुल पुँजीको १५ प्रतिशत हिस्सा सेयर लिएका उनले आफ्नै नातेदारहरुलाई नै सञ्चालक समितिमा राखेका छन् ।








