काठमाडौँ/ नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् ।
टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुन सकेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी मञ्जु कार्की डिम्याट खाता खोल्न सुरक्षाकर्मीलाई फाराम बुझाएको तीनदिनसम्म पनि खाता नं पाउन नसकेको गुनासो गर्छीन् ।
कार्कीजस्तै सयौँ सेवाग्राही लिमिटेडमा समयमा काम नहुने गरेको दुःखेसो पोख्छन् । कार्यालयमा जी फोर सेक्युरिटी कम्पनीबाट खटिएका सुरक्षाकर्मी रघु विष्टले मन लागेका सेवाग्राहीलाई छिराउने र मन नलागेका सेवाग्राहीलाई भित्र जान पाइँदैन भनी फर्काउने गरेका छन् ।
सुरक्षाकर्मी विष्टले केही ब्रोकरको इसारामा सेवाग्राहीलाई भित्र नछिराउने गरेको सेवाग्राहीको गुनासो छ ।







