काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराएका हुन् । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारणसभाले संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व हुने सञ्चालक चारजना र सर्वसाधारण समूह ‘ख’ बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएकाले ती पदहरुमा नयाँ पदाधिकारी चयन गरेको थियो ।
निर्वाचनबाट संस्थापक समूह ‘क’ बाट जगतबहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूह ‘ख’ बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका हुन् । सञ्चालकहरुको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष जगत बहादुर पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको थियो ।








