माघ २२, काठमाडौं । साताको अन्तिम दिन बिहीवारको शेयर कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक रकमको कारोबार सँगै सर्वाधिक मूल्य वृद्धि भएको छ ।
उक्त कम्पनीले कुल ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीको माघ १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ९२ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्नेछ ।
विगतका वर्षहरुमा पनि आकर्षक लाभांश दिदैं आएको उक्त कम्पनीले गत वर्षभन्दा यस वर्ष करिब दोब्बर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।








