काठमाण्डौ । विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिक रूपमा जिम्मेवार रहने आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रबद्र्धन गर्ने उद्देश्यसहितको बिशेष योजना ल्याएको छ ।
बैंकले ल्याएको साढे सातवर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ ।
‘यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुने मात्र नभई यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने छ, जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको छ ।’ बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।